नेपाली राजनीतिक वृत्तमा समसामयिक घटनाक्रमको मिहीन अवलोकन अनि विश्लेषण गर्ने हो भने जुन रुपले नेपाली राजनीति रुमल्लिएको छ, जुन रुपले खिचातानी र आरोप प्रत्यारोप चलिरहेको छ, यी सबैको पछाडि एउटा मात्र कारण देखिन्छ: अहम । आफू बाहेक अरुको अस्तित्व समेत स्वीकार गर्न नसक्ने प्रवृति अहिलेको राजनीतिक नेतृत्वमा रहेका व्यक्तिहरुमा देखिएको छ, जुन हरेक हिसाबले खतरनाक देखिन्छ ।
लोकतन्त्रका मुलभूत सिद्धान्त एवं व्यावहारिक पाटोहरुलाई आत्मसात गर्ने परम्परा नेपाली राजनीतिमा बिरलै देख्न पाइन्छ । आत्मकेन्द्रित, गूटकेन्द्रित, सत्ता एवं शक्ति प्रतिको लालसाले निम्त्याएको परिणतिबाहेक अरु केहि होइन अहिलेको खिचातानी । जबसम्म सत्तालिप्सा र आडम्बरी राजनीतिक कु-संस्कारले नेपाली राजनीतिक नेतृत्वलाई जकडी राख्छ, तबसम्म नेपाली जनताले उनीहरुले चाहेको सामाजिक, राजनीतिक तथा आर्थिक विकासको प्रत्याभूति गर्न पाउने छैनन् । र अर्को कुरा, जबसम्म नेपाली जनतामा "हनुमान" प्रवृतिको अन्त्य हुदैन र नेपाली जनतामा विशुद्ध राजनीतिक चेतको विकास हुँदैन, तबसम्म नेपालमा अपेक्षित आर्थिक, सामाजिक तथा राजनीतिक रुपान्तरण सम्भव देखिदैन ।

Comments
Post a Comment